Logo

पूर्वाधार सहप्रयोग कार्यविधि एक साताभित्र, इन्टरनेटकाे मूल्य घट्ने

कखरा संवाददाता


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक साताभित्र पूर्वाधार सहप्रयोगका लागि कार्यविधि ल्याउने भएको छ ।

टेकपानाले शुक्रबार राजधानीमा गरेको ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले पूर्वाधार सहप्रयोगको कार्यविधि अन्तिम चरणमा रहेको जानकारी दिनुभयाे ।

सेवा प्रदायकहरूलाई पूर्वाधार सहप्रयोगको मोडल सेवा प्रवाह गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यविधि ल्याउन लागेको उहाँले बताउनुभयाे ।

‘अबको मोडल भनेको पूर्वाधार सहप्रयोग नै हो, यसलाई कार्यान्वयन गरेर अगाडि बढ्दा पूर्वाधारको लागत पनि कम हुनेछ, जसले अन्ततः सेवाग्राहीलाई पनि सहुलियत दिनेछ,’ उहाँले भन्नुभयाे ।

विद्युत् प्राधिकरण र सेवा प्रदायकबीचकाे लडाइँकाे असर उपभाेक्तालाई नै पर्नेतर्फ सचेत गराउँदै उहाँले सहप्रयाेगकाे नीति लागू गर्नुपर्नेमा जाेड दिनुभयाे ।

‘अहिले इन्टरनेट सेवा प्रदायकले इन्टरनेट काट्छु भने पनि, अथवा विद्युत प्राधिकरणले लाइन काट्छु भनेपनि प्रभावित हुने उपभोक्ता नै हो,’ उहाँले थप्नुभयाे, ‘पूर्वाधारको कुरामा सहप्रयोगको नीति लागू गर्नुपर्छ ।’

कार्यविधि लागू भएपछि इन्टरनेटको मूल्य पनि घट्ने, साथै तार व्यवस्थापनमा पनि सहज हुने उहाँकाे भनाइ छ ।  साथै कुनै पनि बहनामा सेवा प्रदायकले दूरसञ्चार सेवा बन्द गर्न नपाउने भन्दै उहाँले सम्बन्धित निकायहरूलाई सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्