Logo

चिनियाँ विमानहरूद्वारा ताइवानको सीमा पार

कखरा संवाददाता


एजेन्सी । चिनियाँ जहाज र विमानहरूले ताइवानको सीमा पार गरेका छन् ।

धेरै चिनियाँ जहाज र विमानहरूले दोस्रो दिन पनि ताइवान स्ट्रेट मध्यरेखा पार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । मध्य रेखा चिनियाँ भूमि र ताइवानबीचको अनौपचारिक विभाजन रेखा वा सीमा हो ।

चीनले बिहीबारदेखि जारी राखेको आफ्नो सैन्य अभ्यासलाई आइतबारसम्म जारी राख्ने जनाएको छ ।

अभ्यासको क्रममा चीनले ताइवान आसपासका समुन्द्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ । जसका कारण मुख्य समुन्द्री मार्ग बन्द भएको छ भने ताइवानमा अन्तर्राष्ट्रिय उडानसमेत स्थगित गरिएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले ताइवानको नजिकै सैन्य अभ्यास थालेको हो । चीनले अमेरिकालाई ताइवानको भ्रमण नगर्न बारम्बार चेतावनी दिइसकेको थियो ।

यसैबीच, जापान भ्रमणमा रहेकी पेलोसीले ताइवानमा आफूले सधैँ शान्ति चाहेको दोहो¥याउनुभएको छ । उनले ताइवानलाई आफूहरूले अहिलेकै स्थितिमा देख्न चाहेको बताएकी छन् ।

चीनले ताइवानलाई एक्लो पार्न खोजेको आरोप लगाउँदै उनले यसले आफू र अन्य अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न रोक्न नसक्ने दाबी गरिन् । पेलोसी २५ वर्षपछि ताइवान भ्रमण गर्ने पहिलो उच्च अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्