Logo

कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्छ : अध्यक्ष दाहाल

कखरा संवाददाता


काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन्।

कांग्रेस शेखर कोइराला पक्षले गठबन्धन गर्दा आफूहरुलाई एक सय सिट चाहिने भनिरहँदा दाहालको यस्तो चेतावनी आएको हो।

माओवादीको बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए।

कांग्रेसभित्र विभिन्न विचार आइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे सोच्नुपर्ने बताए।

आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न उहाँले नेता कार्यक्रतालाई निर्देशन दिए। उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए।

अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण हुन नसक्ने बताउँदै दाहालले चुनावपछि आन्दोलन गर्ने अवस्था आउन सक्ने तर्क गरे। प्रदेशको बैठकमा १३ जिल्लाका अध्यक्षले आ–आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्