Logo

८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब आम्दानी : घिसिङ

कखरा संवाददाता


काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन्।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताए।

घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको जानकारी दिए। उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए। उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने स्पष्ट पारे।

घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए। उनले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको जानकारी दिए। उनले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत भइरहेको पनि बताए। विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने उनकाे दाबी छ।

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताए। उनले आगामी केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महशुल तिर्नुपर्ने बताए।

घिसिङले तत्कालको लागि उद्योगहरूलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गरे। उनले सरकारले कोभिड लगायतका कारणले छुट दिएको भन्दै अहिलेसम्म करिव ९३ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको जानकारी गराए।

आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पुर्‍याउन लक्ष्य सरकारले लिएको उनकाे भनाइ छ।  घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

पछिल्लो समय कुनै पनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको दाबी गरे। उनले गत आर्थिक वर्षमा विद्युत महशुल बढाएर नभइ घटाएर भए पनि १६ अर्ब रूपैयाँ नाफा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्