Logo

भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा

कखरा संवाददाता


काठमाडाैं : भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक सशस्त्र प्रहरी बल नवलपरासीले नियन्त्रणमा लिएकाे छ।

सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टा-छुट्टै स्थानबाट चिनी बरामद गरेको हो। ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो।

एक ट्रकमा ४ सय २० बोराका दरले रहेको चिनी ८ सय ४० बोरा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ हेड क्वाटर नवलपरासीका सूचना अधिकारी डीएसपी केशवराज थापाले जानकारी दिए।

कुल ४२ हजार केजी चिनीको मूल्य करिब ३३ लाख ६० हजार रहेको छ। अवैध कारोबारमा संलग्न ट्रक र चिनीको कुल मूल्य ९० लाख कायम गरिएको डिएसपी थापाले जानकरी गराए।

बरामद चिनी र ट्रकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको छ।

पछिल्लो समय जिल्लाका सीमा नाकाबाट अवैध रूपमा चिनी र कपडाको तस्करी बढेपछि सशस्त्र प्रहरीले पैदल र सवारी साधनको गस्ती बढाएर नियन्त्रणको प्रयास गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्