Logo

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग ५ विकेटले हार्‍यो भारत

कखरा संवाददाता


काठमाडाैं : उपाधि दावेदार मानिएको भारतलाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।

भारतले जितका लागि दिएको १३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित रहँदै ५६ तथा एडेन मार्क्रमले ५२ रनको योगदान गरे। टेम्बा बावुमाले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ अर्शदीप सिंहले सर्वाधिक २ तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले १/१ विकेट हात पारे।

त्यसअघि अष्ट्रेलियाको पर्थमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो।

भारतका सूर्यकुमार यादबले सर्वाधिक ६८ रनको योगदान गरे। कप्तान रोहित शर्मा १५ तथा विराट कोहली १२ रनमा आउट हुँदा के एल राहुल ९ रनमा पेवेलियन फर्किए। हार्दिक पाण्ड्या व्यक्तिगत २ रनका आउट हुँदा दिपक हुडा शून्य रनमा पेवेलियन फर्किए।

बलिङतर्फ लुंगी एनगिडीले सर्वाधिक ४ तथा वेन पार्नेलले ३ विकेट लिए।

भारतलाई पराजित गरेपछि दक्षिण अफ्रिकाले कुल अंक ५ भएको छ भने भारतको ४ अंक रहेको छ।

यसअघि आजै भएको दोस्रो खेलमा नेदरल्याण्ड्समाथि पाकिस्तानले ६ विकेटको जित निकालेको थियो।

जितका लागि नेदरल्याण्ड्सले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। पाकिस्तानको जितमा मोहम्मत रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे। फखर जमानले २० तथा शान ममसुदले १२ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्